भाद्रकृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडाैं | भदौ ७, २०८२

भाद्रकृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौं:  दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ ।


भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।


गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । 


यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।


सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो ।


गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएकोे बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ”, उहाँले भन्नुभयो ।


मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।


यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताउनुभयो ।


बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।


आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

पोखरा:  ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल  जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

थप पढ्नुहोस्